ॐ नमो गुरू मछिन्द्र, शब्द साँचा
पिण्ड काचा मेरा भक्ति, गुरूका शक्ति
नवनाथै जगाऊँ, चौराषीनाथै जगाऊँ
फूरो मंत्र ईश्वरो गुरू गोरख वाचा ।।
सिद्धाश्रम शक्ति केन्द्र नेपालले ऐतिहासिक जिल्ला गोरखाको गोरख गुफामा नेपालमै पहिलोपटक सवाकरोड अखण्ड गुरु गोरखनाथको मन्त्रजप महाअनुष्ठान सम्पन्न गरेको छ । यस महाअनुष्ठान राष्ट्रगुरु गोरखनाथको प्रथम प्राकट्य स्थलको रुपमा परिचित गोरख गुफामा यही फाल्गुण १८ गते महाशिवरात्रीको दिनबाट शुभारम्भ भई फाल्गुण २१ गतेसम्म संचालन भएको थियो ।
महाशिवरात्रीको बिहानी गणेश पूजन, गुरु पूजन तथा शिव पूजनपश्चात् शुभारम्भ भएको यस महाअनुष्ठान शिव गोरक्ष अर्थात् गुरु गोरखनाथलाई प्रसन्न बनाउने उद्देश्यले आयोजना गरिएको थियो । चौबीसै घण्टा बग्रेल्ती भक्तजनहरु गुरुमन्त्र लेखिएको पहेँलो सल ओढेर गोरखा दरबार परिसरमा रहेको गोरख गुफा, गोरखकाली मन्दिर प्रांगण, पंडित पाटीलगायतका स्थानमा बसेर जपमा सामेल हुनुहुन्थ्यो । ७२ घण्टासम्म अटुटरुपमा चलेको यस कार्यक्रममा निर्धारित संख्याभन्दा पनि बढी मन्त्र जप भएको थियो । यस अवधिमा कुल मन्त्रजप संख्या १ करोड तीस लाख पुगेको थियो । महाशिवरात्रीदेखि नै जाग्राम बसी अखण्डरुपमा गरिएको मन्त्रजपमा दिनरात गरी कसैकसैले त २ लाख सत्तरी हजारको मंत्र संख्यासम्म पनि जप गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भदेखि समापनको दिनसम्म गुरु गोरखनाथको चरणमा आयोजकको तर्फबाट रोट चढाइएको थियो भने महाशिवरात्रीमा धुनी
जगाइएको थियो । कार्यक्रममा सहभागी हुन काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, चितवन, गोरखा, लमजुङ, पर्सालगायतका जिल्लाहरुबाट सयौँ भक्तजनहरु आउने र जाने क्रम कार्यक्रम अवधिभर नै चलेको थियो । समापनको दिन २१ गते बिहानैबाट गुरु गोरखनाथ तथा गोरखकाली मन्दिरमा पूजा, स्तोत्रपाठ, आरती पश्चात् भजनकीर्तन तथा कृतज्ञता ज्ञापन आदि क्रमहरु रहेका थिए । यसक्रममा गोरखा दरबारका सुरक्षाकर्मी, कर्मचारी तथा कार्यक्रम सफल पार्नलाई सहयोग गर्नुहुने समस्त भक्तजन तथा श्रद्धालुहरुप्रति कृतज्ञता ज्ञापन गरिएको थियो ।
नेपालको एकीकरणको सुत्रपात भएको यस स्थानमा पहिलोपटक यस्तो दिव्य महाअनुष्ठान सम्पन्न गर्न पाउँदा सिद्धाश्रम शक्ति केन्द्र गौरवान्वित भएको छ । श्री श्री महायोगी गुरु गोरखनाथ यस धरतीमा पहिलोपटक प्रकट हुनुभएको स्थानको रुपमा रहेको यस गोरखगुफा आफैँमा दिव्य एवं चैतन्य तपस्थली हो । हरकोहीले यहाँ आएर दिव्यता र चैतन्यताको महसुस गर्न सक्छन् । यस दरबारक्षेत्र वरिपरि विभिन्न देवीदेवताको चैतन्य मठमन्दिरहरुसमेत रहेका छन् । प्राकृतिकरुपमा पनि आफैँमा सुरम्य एवं मनमोहक रहेको गोरखा दरबार क्षेत्र प्राकृतिक छटाहरुले भरिपूर्ण छ ।
स्मरणीय छ, यसै दिव्यस्थलीमा सिद्धाश्रम शक्ति केन्द्रले वैशाखीपूर्णिमाको अवसरमा वार्षिकरुपमा विगत सातवर्षदेखि रोट महोत्सव सम्पन्न गर्दै आइरहेको छ तथा आगामी २०६८ जेठ ३ गतेदेखि १३ गतेसम्म आठौँ रोट महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ ।
जय गुरुदेव !
Please open the following link to view some photographs of the program.
https://picasaweb.google.com/photosofssk/ShreeGorakshyaMantraJapaMahaAnu...