ॐ नमो गुरू मछिन्द्र, शब्द साँचा
पिण्ड काचा मेरा भक्ति, गुरूका शक्ति
नवनाथै जगाऊँ, चौराषीनाथै जगाऊँ
फूरो मंत्र ईश्वरो गुरू गोरख वाचा ।।
पूजनीय गुरुमाताको नेपाल आगमनको तयारीमा सिद्धाश्रम शक्ति केन्द्र केही समयदेखि लागिरहेको थियो। पहिलोपटक यस्तो अन्तर्राष्ट्रिय स्तरको साधना शिविर एवं पूजनीय गुरुमाताको राष्ट्रिय अभिनन्दनको तयारी आफैंमा चुनौतीपूर्ण थियो। अनेकौं बाधाविरोध, अप्ठ्याराहरुलाई पार गर्दै सिद्धाश्रम शक्ति केन्द्रले आफ्नो तयारीलाई अगाडि बढाइरहेको थियो। विभिन्न समिति, उपसमितिहरुको गठन, तिनीहरुको बेला बेलाको बैठक, छलफलले शिविर नजिकिएको भान हुन्थ्यो। बजारलगायतका ठाउँहरुमा देखिने पर्चा, पम्प्लेट आदिले पनि शिविर हुने तयारीका संकेतहरु दिइरहेको अनुभव हुन्थ्यो। यसरी दिन गन्दागन्दै शिविरको तयारीमा पाल लगाउने बेला आइसकेको थियो। पूजनीय गुरुमाता, अरविन्द गुरुदेवको स्वागतको तयारी गर्न भिआइपी पास मिलाई एयरपोर्ट जाने दिन आइसकेको थियो। यसरी दिन गन्दागन्दै माता आउने दिन आइपुग्यो।
माघ २१ गते तदनुसार फरवरी ४, २०११ को शुक्रबार हतार हतार तयारी गरी स्वागतको लागि साढे दुई बजेतिर एयरपोर्ट पुगियो। हतारमा स्वागतमा अरविन्द गुरुदेवलाई लगाइदिने नेपाली टोपी नै छुटेछ। फेरि हतार हतार किनेर ल्याउन पठाइयो। स्वागतका लागि एउटै ड्रेस, साडीमा सजिएर सिद्धाश्रम शक्ति केन्द्रका साधिकाहरु लामबद्ध थिए। त्यस्तै भक्तपुर ठिमीका कार्यकर्ताहरु पनि आफ्नै मौलिक पोशाकमा सजिएर आएका थिए। त्यस्तै विद्याश्रमबाट सजिसजाउ गराई ल्याइएका पञ्चकन्या पनि हातमा फूलका गुच्छा लिई स्वागतको तयारीमा जुटेका थिए। यसरी सबैजना हातमा पुष्पगुच्छा, मालाहरु लिई बाजागाजासहित स्वागतको तयारीमा प्रतीक्षारत थिए। आश्रमको प्रतिनिधित्व गर्दै माला, पुष्पगुच्छा, टोपी, सल आदिका साथ हामीले पनि भिआइपी कक्षमा गई प्रतीक्षा गर्यौं। हवाइजहाज ल्याण्ड भइसक्यो भन्ने खबर आयो। हामी ढोकामा बसेर वर्षौंदेखि नेपाल आउने प्रतीक्षाको साकार प्रतिमूर्तिको रुपमा पूजनीय गुरुमातालाई साक्षात् अगाडि प्राप्त गरी सारा नेपाली साधकसािधकाहरुको तर्फबाट स्वागत गर्न व्याकुल थियौं। शारीरिक कारणले गर्दा मातालाई व्हीलचेयरमा बसाएर एयरपोर्टका कर्मचारी साधकले लिएर आए। प्रतीक्षाको क्षण समाप्त भयो। पहिला पुष्पगुच्छा हातमा लिएर स्वागत गरी दर्शन गर्यौं। त्यसपछि भिआइपी कक्षमा अरविन्द गुरुदेवलाई बसाएर टोपी, माला र मातालाई माला, सल ओढ्याएर स्वागतका साथ हामीभित्रको श्रद्धा, भक्ति, भावनालाई चढायौं। अत्यन्त प्रसन्न मुद्रामा माता, अरविन्द गुरुदेवलाई प्राप्त गर्दा हामी अति हर्षित भयौं। हाम्रो चाहनानुरुप नेपाल शिविर एवं अभिनन्दनको लागि उहाँहरुको आगमनले हामी सम्पूर्णमा खुशीयाली छायो। हामी अत्यन्तै हर्षित भयौं।
केहीबेर फोटो खिच्यौ, शिविरको तयारीको बारेमा सामान्य जानकारी दिएपछि उहाँहरुको सुटकेश, व्यागहरु त्यहीँकै कर्मचारीलाई जिम्मा लगाई बिस्तारै भिआइपी कक्षबाट तल झर्यौं। अगाडि पञ्चकन्या स्वागतका लागि थिए। उनीहरुले माता र अरविन्द गुरुदेवलाई स्वागत गरे। त्यसपछि स्वागतमा बस्ने अन्यले फूलमालाले स्वागत गरे। साथमा बाजागाजाका साथ स्वागत गर्दै माताहरुका लागि भनेर तयार पारिएको सजिसजाउ गाडीमा चढायौं। हामी पनि गुरुदेवको गाडीमा चढी एयरपोर्टबाट बिस्तारै अगाडि बढ्यौं। एयरपोर्टको गेटनजिकै ठाउँ ठाउँमा स्वागतका लागि बसेका साधकसाधिकाहरुले फूलमाला दिएर स्वागत गरेका थिए। स्कर्टिंगका लागि गाडी र मोटरसाइकलहरु आश्रमका झण्डा राखी अगाडि पछाडि लामबद्ध थिए। यसरी पूरै जुलुस जसरी गाडीहरु राखेर, मोटरसाइकलहरु, गुरु च्यादर ओडेर जुलुसमा हिँड्दा साँच्चिकै शोभायात्राको भान हुन्थ्यो। अरविन्द गुरुदेव हाम्रो भावपूर्ण स्वागतबाट प्रसन्न हुनुभएको कुरा बेला बेलामा उहाँले दिनुभएको अभिव्यक्तिले प्रष्ट्याएका थिए। अत्यन्त खुसी हुँदै उहाँले भन्नुभयो, "शोभायात्रा आजैजस्तो छ, होइन र ?" "गुरुदेव ! शोभायात्रा त भोलि हो" हामीले भन्यौं। "त्यसो भए यो के टेलर हो ?" उहाँ ले खुसी व्यक्त गर्नुभयो। बाटाभरि पहेँला सलमा साधकसाधिकाहरु मोटरसाइकल, गाडीहरुमा थिए। बिस्तारै गौशाला, चाबहिल हुँदै ह्यात होटल पुग्यौं। होटेलमा स्वागतको तयारीमा एउटा ठूलै समूह थियो। होटेल पुग्दा ठूलै भीड जम्मा भइसकेको रहेछ। रिसेप्सनमा उहाँहरुलाई राखी पूजन, आरती गर्यौं। भीड अझै ठूलो भयो। साततारे होटेलमा ठूलो भीड जम्मा भएकोले होटेलका सुरक्षाकर्मीहरु मानिसहरुलाई बाहिर जान आग्रह गर्दै थिए। यसरी मातालाई नेपालमा हार्दिक स्वागत गर्दै पूजन, आरतीका साथ भक्तिभाव प्रकट गर्यौं। त्यसपछि माताहरु माथि रहेको विशेष कक्षतिर लाग्नुभयो। अन्य भक्तजन, साधकसाधिकाहरु आआफ्ना कार्यतिर लागे। एकछिनको विश्रामपछि माता र अरविन्द गुरुदेवलाई प्रसादको व्यवस्था गर्यौं। उहाँहरुलाई कार्यक्रमको जानकारी सामान्यरुपमा दिई केही क्षणमा आयोजक समितिसँग उहाँहरुको भेटघाटको लागि समय माग्यौं। उहाँहरुले ९:०० बजे आउनू भन्नुभयो। त्यसपछि शिविरस्थलको निरीक्षण गर्यौं, त्यसैअनुरुप दस, बाह्र जना भेट्न गयौं। करिव ९:०० बजेतिर गुरुदेवलाई भेटी भोलिपल्ट (माघ २२ गते) को कार्यक्रम शोभायात्राको बारेमा जानकारी गरायौं। शोभायात्रामा हात्तीमा राखेर सवारी गराउने जानकारी गराउँदै मातालाई हात्तीको पूजा गरी गाडीमा बसेर केही बेर शोभायात्रामा सरीक हुन प्रार्थना गर्यौँ। उहाँहरुले सहमति जनाउनुभयो। माघ २२ गतेको सम्माननीय उपराष्ट्रपतिबाट हुने अभिनन्दन कार्यक्रमको तालिका देखाइयो। यसरी सम्पूर्ण कार्यक्रमको बारेमा चर्चा गर्यौँ र भोलिको शोभायात्रामा जानका लागि आउने तयारी गरी त्यहाँबाट निस्कियौँ। शिविर स्थलमा आई केही क्षण हेरी घरतर्फ लाग्यौँ।
अर्को दिन माघ २२ गते शिविरस्थलमा गुरु पूजन, गणेश पूजन गरी शिविरका लागि विभिन्न देवीदेवताको आवाहन पूजन गर्यौँ। अरु साधकसाधिकाहरु शोभायात्राको तयारीमा वसन्तपुरको काष्ठमण्डपमा थिए। हामी पूजा सकी माता एवं अरविन्द गुरुदेवलाई लिन होटेल जाने तयारीमा लाग्यौँ। मातालाई अलि सन्चो छैन, शोभायात्रामा नजाने भनेर सुत्नुभएको छ भनेर होटेलबाट फोन आयो । काष्ठमण्डपमा पनि माता नआउने हल्ला चलेछ। हामीलाई कता कता खल्लो लाग्यो। हतार हतार होटेलमा पुग्यौँ। माताको कोठामा पुग्दा माता सुतिरहनु भएको थियो। माताबाट पूजाआजा गरी शोभायात्राको उद्घाटन गर्ने हाम्रो तयारीमा एक्कासी झट्का लाग्यो। जगत्जननी माताको लीलाभित्र हराएका हामी उहाँकै लीलामा पर्यौँ। शायद हाम्रो परीक्षा लिनुभएको हो वा हाम्रो भावनालाई जाँच गर्नुभएको हो, हामी अलि असहज स्थितिको सामना गर्न बाध्य थियौँ। तर पनि हामीले हिम्मत हारेनौँ। अरविन्द गुरुदेवसँग गएर प्रार्थना, आग्रह, निवेदन गर्नुबाहेक अरु उपायहरु पनि केही थिएन। सूक्ष्मतामा विराजमान सद्गुरुदेवहरुसँग प्रार्थना गर्दै, उहाँहरुबाट कृपाको आशा राख्दै धैर्यलाई आत्मसात गर्यौँ। अरविन्द गुरुदेवसँग काष्ठमण्डपमा हजारौँ साधकसाधिकाहरु प्रतीक्षारत छन्, पाँच मिनेटलाई मात्रै भए पनि शोभायात्रामा मातालाई लैजाने आग्रह गर्यौँ। अरविन्द गुरुदेवले पनि "ठीक छ, म आफैँ गएर भन्छु" भनेर आश्वासन दिनुभयो। उहाँले शोभायात्राको तयारीका बारेमा पनि सोध्नुभयो। सबै तयारी भइसकेको जानकारी दियौँ र अरविन्द गुरुदेव निस्केर माताको कोठामा लाग्नुभयो। हामी पनि साथसाथै माताको कोठामा गयौँ। अरविन्द गुरुदेवले हाम्रो भावना बुझेर मातालाई शोभायात्रामा जान अनुरोध गर्नुभयो। हामीले पनि सही थप्यौँ। धेरै बेर बस्न नसक्ने भए गाडीमा बसेर कार्यक्रम शुरुवात गरी गाडीमै फर्कने भनेर बिन्ती बिसायौँ। हामीलाई गुरुकृपा भयो। हाम्रो भावनालाई बुझेर होला साथै सूक्ष्मसत्तामा विराजमान सद्गुरुदेवहरुको कृपास्वरुप परिस्थितिले एकाएक नयाँ मोड लियो, अकल्पनीय गुरुकृपा भयो। गुरुमाता शोभायात्रामा जान तयार हुनुभएपछि एकाएक हामी सबैमा खुसीको लहर छायो। उत्साह, उमंगका साथ पूजनीय गुरुमाता र अरविन्द गुरुदेवलाई साथमा लिई शोभायात्राको लागि वसन्तपुरतर्फ लागियो। हजारौँ साधकसाधिकाहरु शोभायात्राको लागि तम्तयार थिए। माताको आगमनले सबैमा जोश, जाँगर थपियो, उत्साह थपियो। माता गाडीमा बसेर शोभायात्राको लागि बसन्तपुर जाँदाजाँदै एकाएक उहाँको स्वास्थ्यमा असोचनीय परिवर्तन भयो। हामीले माता एवं अरविन्द गुरुदेवलाई लिएर सबैभन्दा पहिला श्री श्री महायोगी गुरु गोरखनाथको दिव्य शक्तिपीठमा पूजन गर्न काष्ठमण्डपभित्र लग्यौँ। माताको हातबाट श्री श्री महायोगी गुरु गोरखनाथको पूजन सम्पन्न भयो। पूजनपछि आफ्नो सुपुत्रलाई गुरु गोरखनाथको फूल प्रसाद लगाइदिनु भयो। दुवैजनाले श्री श्री महायोगी गुरु गोरखनाथको पूजन गरी शोभायात्राको शुरुवात गर्नु आफैँमा सबैका लागि हर्ष र गर्वको विषय बन्नपुग्यो, सिद्धाश्रम शक्ति केन्द्रको लागि त ठूलो उपलब्धि नै रह्यो। आफ्ना परमाराध्य सद्गुरुदेवहरुलाई उत्तिकै स्थान, श्रद्धा, भक्ति दिँदै आएको यस केन्द्रलाई गुरु गोखनाथको पूजा त्यो पनि स्वयं गुरुमाताले गर्नु उहाँले हामी सम्पूर्ण शिष्यहरुको भावना बुझेजस्तो लाग्यो। यसरी गुरु गोरखनाथको शक्तिपीठको पूजनपछि
हात्तीको पूजन भयो। हात्तीलाई माताले प्रसाद दिनुभयो। त्यसपछि माता गाडीमा बस्नुभयो। अरविन्द गुरुदेवलाई हात्तीमा चढ्नुभयो। मातालाई गाडीमा र अरविन्द गुरुदेवलाई हात्तीमा राखी भव्य एवं दिव्यताका साथ बाजागाजा, विभिन्न भेषभूषामा सजिएका हजारौँ साधकसाधिकाका साथ शोभायात्रा अगाडि बढ्यो। माता केहीबेर अष्टमातृका नृत्य, सुपुत्र अरविन्दको हात्तीमाथिको सवारी, साधकसाधिकाको भीडलाई नियाल्दै अगाडि होटेलतर्फ विश्रामको लागि लाग्नुभयो। हामी भजनकीर्तन, जयकार गर्दै शोभायात्रामा सहभागी हुँदै महोत्सव मनाउँदै अगाडि बढ्यौँ। वसन्तपुर, न्यूरोड, जमल, कमलादी, कमलपोखरी, ज्ञानेश्वरपुल, गौशाला हुँदै शिविरस्थल वनकाली पुग्यौँ। वनकाली पुगेपछि एकछिनको आरामपछि अरविन्द गुरुदेव शिविरस्थलको सजिसजाउ स्टेजमा आउनुभयो। त्यहाँ पनि उहाँको भव्य स्वागत भयो। आयोजक समितिको तर्फबाट माल्यार्पण गर्ने क्रम केहीसमय चल्यो। आवाहन भजनको समयमा परमपूज्य सद्गुरुदेवको समुपस्थितिको आभाष धेरैलाई भयो। केही बेरमा अरविन्द गुरुदेवले प्रवचन दिनुभयो। स्वागत भजन, स्वागत नृत्यपछि उहाँलाई भेटेर आफ्नो समस्या राख्ने कार्यक्रम चल्यो। लाममा बसेका सबैले उहाँको दर्शन गरे, आफ्ना समस्या लेखेर दिए। समस्याअनुसारको शक्तिपातको लागि चिट लेख्दै पठाउने क्रम राति अबेरसम्मै चल्यो। त्यसपछि करिव ८ बजेपछि फेरि शक्तिपातको लागि चिट ल्याउनेहरुको लाम बस्यो। यो क्रम नसकिँदासम्म शक्तिपात चलिरह्यो र अन्तमा ९:३० तिर आरती गरी उक्त दिनको कार्यक्रम विसर्जन भयो। राति होटेलमा भेटेर भोलिको कार्यक्रम तय गरियो। सम्माननीय उपराष्ट्रपति आउनुहुने भएकोले औपचारिक कार्यक्रमका लागि स्टेजमा संस्थाको तर्फबाट आयोजक पनि कुर्सीमा बस्नुपर्ने थियो। अरविन्द गुरुदेवलाई कार्यक्रमको जानकारी दिई स्टेजमा उहाँहरुसँगै बस्ने अनुमति लियौँ र भोलिको तयारीमा जुट्यौँ।
अर्को दिन माघ २३ गते आफैँमा सबैका लागि एउटा विशिष्ट दिन भएको अनुभव भइरहेको थियो किनकि उक्त दिन इतिहासमै पहिलोपटक पूजनीय गुरुमाताबाट गुरुमन्त्र सुन्ने विशेष कार्यक्रम थियो भने अर्कोतर्फ सारा शिष्यहरुको तर्फबाट र नेपाली जनताको तर्फबाट सम्माननीय उपराष्ट्रपतिले माताजीलाई राष्ट्रिय सम्मान गर्नुहुने ऐतिहासिक कार्यक्रम पनि थियो। बिहानको तयारी सकी शिविरस्थलबाट माता तथा अरविन्द गुरुदेवलाई लिन होटेल गयौँ। हतार हतार गरेर करिव ११:०० बजे उहाँहरुलाई शिविरस्थलमा ल्यायौँ। केही बेरमा नै गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति श्री परमानन्द झा आउनुभयो। पुष्पगुच्छाले उहाँलाई स्वागत गरी स्टेजमा आसन ग्रहण गरायौँ। त्यसपछि औपचारिक कार्यक्रम अगाडि बढ्यो। गोरक्ष निखिल ज्योति दिव्य विद्याश्रमका भाइबहिनीहरुले स्वागत नृत्य प्रस्तुत गर्नुभयो। नृत्यपछि आयोजक संस्थाको तर्फबाट आयोजक समितिका अध्यक्षले स्वागत मन्तव्य राख्नुभयो। स्वागतपछि सम्माननीय उपराष्ट्रपतिले सद्गुरुदेवहरुको तस्विरमा माल्यार्पण, पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभयो।
समुद्घाटन पछि सिद्धाश्रम शक्ति केन्द्र आरती सञ्चालन केन्द्र ठिमी, भक्तपुरबाट नेपाली संस्कृति झल्कने तांत्रिक अष्टमातृका नृत्य प्रस्तुत भयो। नृत्यपछि सम्माननीय उपराष्ट्रपतिले गोरक्ष निखिल वाणीको विशेषांकको विमोचन गर्नुभयो भने पूजनीय गुरुमाताले अद्वितीय युगपुरुष डा. नारायण दत्त श्रीमालीनामक ग्रन्थ जुन सद्गुरुदेवको जीवनीबारे लेखिएको पहिलो ग्रन्थ होे विमोचन गर्नुभयो।
विमोचन पछि सम्माननीय उपराष्ट्रपतिले विशेषरुपमा तयार पारिएको २१ किलोको पुष्पमाला पूजनीय गुरुमातालाई लगाइदिनुभयो। माल्यार्पणको क्रममा माताजी यति धेरै प्रसन्न देखिनुहुन्थ्यो कि त्यस्तो प्रसन्न मुद्रामा उहाँलाई कहिल्यै दखेका थिएनौँ। माल्यापर्णको क्रमपछि पूजनीय गुरुमातालाई सम्माननीय उपराष्ट्रपतिले दोसल्ला ओढाएर सम्मान गर्नुभयो।
त्यसपछि त्यो ऐतिहासिक क्षण नजिक आयो। अभिनन्दन–पत्रमा उल्लेख व्यहोरा पढेर सबैलाई सुनाइयो र विधिवत्रुपमा सम्माननीय उपराष्ट्रपतिले त्यस अभिनन्दन पत्र पूजनीय गुरुमातालाई हस्तान्तरण गर्नुभयो। पूरा पण्डाल ताली र जयकारले भरियो। वातावरण खुसी, हर्षले पूरै छचल्किएको थियो। पूजनीय गुरुमाताको मुहार हर्षित भई पूर्णचन्द्रजस्तो खुलेको थियो। वातावरण अत्यन्तै आनन्ददायक भयो, सबैमा हर्षको सीमा नै रहेन। त्यसपछि सम्माननीय उपराष्ट्रपतिले पूजनीय गुरुमाता तथा अरविन्द गुरुदेवलाई विशेष उपहार प्रदान गर्नुभयो साथै दोसल्ला ओढाएर अरविन्द गुरुदेवलाई पनि सम्मान गर्नुभयो। त्यसपछि सम्माननीय उपराष्ट्रपतिलाई पूजनीय गुरुमाताले पारद शिवलिंग उपहारस्वरुप प्रदान गर्नुभयो भने अरविन्द गुरुदेवले गुरु च्यादर ओढाई, पुष्पमाला लगाइदिनुभयो।
कार्यक्रम स्थलमा हर्ष र उल्लासको वर्षा भइरहेको थियो। सम्पूर्ण साधक साधिकाहरु अत्यन्त खुशी र भावविभोर देखिनुहुन्थ्यो। यो क्षण इतिहासमा नै एक गर्वगर्न लायक घटना बन्न पुग्यो। दिव्यताका साथ भएको यस कार्यक्रम आफैँमा अद्वितीय बन्न सफल भयो।
त्यसपछि अरविन्द गुरुदेवले आशीर्वचनको क्रममा नेपालसम्बन्धी व्याख्या, यहाँका साधकसाधिकाहरुको समर्पण, भावभक्तिको प्रशंसा गर्नुभयो। साथै नेपाली जनता, शिष्यसमुदायको उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गर्दै सम्माननीय उपराष्ट्रपतिज्यूलाई आशीर्वाद प्रदान गर्नुभयो।
त्यसपछि सम्माननीय उपराष्ट्रपतिज्यूले कार्यक्रमलाई सम्बोधन गर्नुभयो। संवोधनको क्रममा उहाँले परमपूज्य सद्गुरुदेवको कार्यको प्रशंसा गर्नुभयो, त्यस्तै पूजनीय गुरुमाताको पनि प्रशंसा गर्नुभयो। माताजीको प्रशंसा गर्दै उहाँले भन्नुभयो "गुरुमाताज्यूले भर्खरै आफ्नै हातले पिउनका लागि मलाई पानीको गिलास दिनुभयो। त्यसलाई मैले उहाँको आशीर्वाद मानेँ। बडो प्रसन्नचित्तले मैले त्यो पानी पिएँ। त्यो पानी पिएपछि आफूमा धेरै ऊर्जा र शक्ति आएको महसुस गरेँ।" उहाँले पूजनीय गुरुमाताको अभिनन्दन गर्ने सौभाग्य प्रदान गर्नुभएकोमा आयोजकलाई पनि कृतज्ञता ज्ञापन गर्नुभयो। उपराष्ट्रपतिज्यूले गर्नुभएको प्रशंसाले सबैमा प्रसन्नता छाएको स्पष्ट अनुभव
भयो। ताली र खुसीले वातावरण उल्लासमय बन्यो। साह्रै राम्रो र शुरुमै पूर्ण आकर्षक सम्बोधन गरेर उपराष्ट्रपतिज्यूले कार्यक्रमको रौनकतालाई थप्नुभयो।
अन्तमा आयोजक संस्थाको तर्फबाट धन्यवाद ज्ञापनको क्रमसँगै औपचारिकरुपमा कार्यक्रम समापन भयो।
एकैछिनको विश्रामपछि स्टेजमा पूजनीय गुरुमाता र अरविन्द गुरुदेवको पुनः आगमन भयो। माताजी एवं अरविन्द गुरुदेवलाई सिद्धाश्रम शक्ति केन्द्रको तर्फबाट केन्द्रलगायत सम्पर्क कार्यालयहरुका प्रतिनिधिले पनि फूलमाला, उपहारसहित अभिनन्दन गरे।
त्यसपछि आवाहनभजन भयो। भजनपछि अरविन्द गुरुदेवले मंत्रदीक्षापूर्वका विधिहरु सम्पन्न गराउनुभयो। पूर्वक्रमहरुको समापन पछि पूजनीय गुरुमाताबाट गुरुमन्त्र प्राप्त गर्ने एक अद्वितीय अवसर सम्पन्न भयो। पूजनीय गुरुमाताले अगाडिबाट मन्त्रोच्चारण गरेपछि सबैले पछि पछि उच्चारण गर्ने क्रम तीनपटक सम्म दोहोरियो। यसरी वातावरण पूर्णरुपमा दिव्यतम् बन्यो, चैतन्यमय बन्यो। सारा योगी महायोगीहरुको साक्षात् उपस्थितिजस्तो महसुस भयो। यसरी इतिहासमै पहिलोपल्ट पूजनीय गुरुमाताको मुखारविन्दबाट गुरुमन्त्र प्राप्त गर्ने दिव्य अवसर हजारौँ साधकसाधिकाहरुले प्राप्त गरे। यस्तो दिव्य अवसर प्राप्त गरेर सबैले आफूलाई सौभाग्यशाली ठाने र सबैको मुहारमा खुसी र हर्ष छाएको अनुभव हुन्थ्यो।
गुरु मंत्रदीक्षापश्चात् अरविन्द गुरुदेवले अष्टलक्ष्मी साधना सम्पन्न गराउनुभयो। साधनापश्चात् प्रवचनको क्रममा उहाँले कार्यक्रमको र आयोजक संस्थाको धेरै प्रशंसा गर्नुभयो। पूजनीय गुरुमाता सद्गुरुदेवको महाप्रयाण पछि विगत १२ वर्षको अवधिमा आज नै यति धेरै खुशी देखिनुभएको कुरा भन्नुभयो। सद्गुरुदेवले शरीर छाड्नु भएपश्चात् सबैभन्दा राम्रो शिविर भनी माताजीले प्रशंसा गर्नुभएको कुरा पनि उहाँले भन्नुभयो। माताजी प्रसन्न हुनुभएर त्यस दिनको लागि सम्पूर्ण दीक्षाहरु खुल्ला गरिदिनुभएको कुरा जानकारी गराउँदै त्यसदिनको लागि दीक्षाशुल्क पनि एकदमै न्यून रहने कुरा भन्नुभयो।
उक्त अवसरमा माताजी प्रसन्न हुनुभएर दस महाविद्याहरुको मंत्र पनि प्राप्त भएको थियो।
प्रवचनको क्रमपछि फेरि भेटघाटको क्रम साँझसम्म चल्यो। त्यसपछि शक्तिपातको लागि लाइनमा बसेकाहरुलाई अरविन्द गुरुदेवले शक्तिपात दिने क्रम चल्यो। शक्तिपातको क्रमपछि आरती सम्पन्न भयो। गुरु आरतीपछि प्रवचनको क्रममा अरविन्द गुरुदेवले कार्यक्रमको, सिद्धाश्रम शक्ति केन्द्रको, केन्द्रका कार्यकर्ताहरुको गुरुप्रतिको भावभक्तिको, अनुशासनको धेरै प्रशंसा गर्नुभयो। प्रवचनपश्चात् उपस्थित सबैलाई चरणस्पर्शको अवसर प्राप्त भयो।
यसरी दुई दिवसीय साधना शिविर भव्य एवं दिव्यरुपमा सम्पन्न भयो।
अर्को दिन माघ २४ गते माताहरु भारत फर्कनु पर्ने थियो। बिहान १०:३० तिर माता र अरविन्द गुरुदेवले आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पूजन गर्नुभयो। त्यसपछि वर्षौं देखि हाम्रो प्रतीक्षारत क्षण पूरा हुने क्रम अगाडि बढ्यो अर्थात् पशुपतिपछि उहाँहरुलाई सिद्धाश्रम शक्ति केन्द्रको केन्द्रीय कार्यालय बसुन्धरामा ल्याउने इच्छा पूरा भयो। पूजनीय गुरुमाता र अरविन्द गुरुदेवलाई आरतीकक्षमा राखी सामान्य पूजन, आरती गर्यौँ। त्यसपछि माताले 'अब सौंप दिया' बोलको समर्पण भजन गाउन भन्नुभयो। उक्त भजन सबै मिलेर अत्यन्त हर्षित हुँदै गायौँ। उहाँले सबैलाई आशीर्वाद दिनुभयो। वर्षौंदेखि सूक्ष्मतामा मात्रै स्मरण गर्दै दिन दिनै जयकार गरिइने पूजनीय गुरुमातालाई साक्षात् पाउँदा सबै गर्वित थियौँ। सिद्धाश्रम शक्ति केन्द्रमा माताको साक्षात् उपस्थितिले सबैलाई खुसी, उत्साह, उमंग, प्रेरणा थपेको अनुभव भइरहेको थियो। यसरी पूजनीय माताको उपस्थिति सदा सदाको लागि गर्वको विषय बन्यो, एक अद्वितीय क्षण र आश्रमको लागि एउटा गौरवशाली इतिहास बन्यो।
आश्रममा आगमन भएपछि गुरुकृपा आशीर्वादले खोलिएको विद्याश्रममा माताहरुको सवारी भयो। विद्याश्रममा माताको उपस्थितिले सारा विद्यार्थी, कर्मचारीहरु खुसीले गद्गद् थिए। विश्वास नै गर्न नसकिने क्षण आफ्नो अगाडि देख्दा सबै दंग थिए। माताको स्वागतपछि स्वागत नृत्य देखाइयो। त्यससँगै विद्याश्रमबाट उहाँहरुलाई सम्मान गरियो। अनि केहीबेर अरविन्द गुरुदेवले प्रवचन, आशीर्वचनपछि सबै विद्यार्थीहरुलाई सरस्वती दीक्षा प्रदान गर्नुभयो। यसरी विद्याश्रमका सबै विद्यार्थी, शिक्षक शिक्षिकाहरु सरस्वती दीक्षाबाट दीक्षित भए। सबैमा खुशीयाली छायो, अविस्मरणीय घटना घटी एउटा इतिहास बन्न सफल भयो।
जय गुरुदेव !
https://picasaweb.google.com/photosofssk/PoojaaniyaGurumataKoAbhinandanT...
Please click the above link to view some photographs of the program.
and also visit us on Facebook.